३ असोज, काठमाडौँ ।
परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले स्रोत साधनले केही समस्या भएपनि कानूनी, प्रशासनिक र वित्तिय पाटोबाट संंघीयता व्यवस्थित ढंगले स्थापित भइसकेको बताएका छन् । नेपाल कानून समाजले आयोजना गरको ‘भर्चुअल छलफल’मा बोल्दै मन्त्री ज्ञवालीले कर्मचारी अभाव र स्रोत साधन नपुग्ने समस्या भएपनि वित्तिय, प्रशासनिक र कानूनी हिसाबले संघीयता स्थापना भइसकेको बताए ।
प्रशासनिक संयन्त्र केन्द्रिकृत प्रशासनको ढाँचाबाट आएकाले स्थानीय तहमा केही समस्या भएपनि अहिले कोभिडको संकटका बेला संघीयताको औचित्य पुष्टि भएको बताए । सर्वोच्च अदालतमा पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठले संविधान लेख्नु आफैमा उपलब्धी भएपनि त्यसमा लेखिएको कुराहरुको कार्यान्वयन महत्वपूर्ण पाटो भएको बताए । संघीयता, सहभागितामुलक प्रजातन्त्र, सामाजिक न्यायका आधारभूत विषयहरुमा हामीले कति उपलब्धी हासिल गर्न सकेका छौँ त्यसको निर्मम मूल्याङ्कन हुनुपर्ने उनले बताए ।
नेपाली कांग्रेसका नेता राधेश्याम अधिकारीले लोकसेवा आयोग, निजामति सेवा ऐन, नागरिकता ऐन समयमै नआउँदा समस्या भएको बताए । संसदले आफ्नो प्राथमिकतामा राखेर यी ऐनहरुलाई अगाडी बढाउनुपर्ने भएपनि त्यसो हुन नसकेको उनले बताए ।
संविधानविद सूर्य ढुंगेलले राजनीतिक दलहरुले संवैधानिक आयोगमा गर्ने नियुक्तिले जनतामा चरम निराशा छाएको बताए । आयोगका पदाधिकारी नियुक्ति गर्दा उपयुक्त र योग्य व्यक्ति छान्नुपर्नेमा त्यसो हुन नसक्दा भ्रष्टाचार नियन्त्रण गर्ने संयन्त्रहरु नै भ्रष्टाचारलाई प्रवद्र्धन गर्ने संयन्त्रका रुपमा अगाडी बढिरहेको सन्देश जनतामा गएको बताए । पार्टीका नेताहरुले आफु अनुकुल व्यक्ति नियुक्ति गर्दा संविधानको सफल कार्यान्वयनमा समस्या देखिएको उनले बताए ।
आज संविधान जारी भएको ५ वर्ष पुरा भएको छ । संविधान दिवस (राष्ट्रिय दिवस)का अवशरमा देशभरी नै विभिन्न कार्यक्रम गरिएका छन् ।