५ असोज, जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको आईसीयू कक्षमा अनशनरत डा. गोविन्द केसीको स्वास्थ्यावस्था बिग्रँदै गएको चिकित्सकले बताएका छन् । उनलाई तत्काल सहज उपचारको वातावरण बनाउनुपर्ने उनीहरूको सुझाव छ ।
प्रतिष्ठानको चिकित्सक टोलीले बुलेटिन जारी गरी केसीको स्वास्थ्य गम्भीर बन्दै गएको र उनले कुनै पनि जाँच गराउन अस्वीकार गरिरहेकाले उपचारका लागि सहज हुने स्थानमा लैजान राम्रो हुने सुझाव दिएको हो ।
चिकित्साशिक्षा सुधार र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएसलगायत कार्यक्रम तत्काल सञ्चालन गरिनुपर्ने माग राखी चन्दननाथ–६ रानीचौरस्थित बाबिरामष्टको मन्दिरमा अनशन बसेका केसीलाई शनिबार राति प्रहरीले जबर्जस्ती अस्पताल पु¥याएको थियो । माग सम्बोधन गर्नुको साटो अपहरण शैलीमा अस्पताल ल्याइएको भन्दै उनी अनशनको आठौं दिन पनि कुनै उपचार नलिन अडानमा छन् ।
शनिबारसम्म दिनको तीनपटक स्वास्थ्य जाँच गरिरहेकोमा अस्पताल ल्याएपछि उनले कुनै पनि जाँच गराउन नमानेको प्रतिष्ठानका डा. प्रवीण गिरीले बताए । त्यसैले यथाशीघ्र उपचारका लागि सहज हुने स्थानमा लैजानुपर्ने उनले बताए ।
प्रतिष्ठानले डा. केसीको उपचारमा गिरीसहित डा. धीरज गुरुङ, डा. अनुपमंगल समाल र सविना थापालाई खटाएको छ ।