नक्कली भ्याट बिल प्रकरणमा तीन कम्पनीविरूद्ध २५ करोड बढी बिगो कायम गरी मुद्दा दायर

नक्कली भ्याट बिल प्रकरणमा तीन कम्पनीविरूद्ध २५ करोड बढी बिगो कायम गरी मुद्दा दायर

६ असोज, काठमाडौं । राजश्व अनुसन्धान विभागले झुठा तथा नक्कली भ्याट बिल प्रकरणमा काठमाडौं, भक्तपुर र बनेपाका तीन कम्पनीविरूद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ।

तीन वटै कम्पनीलाई २५ करोड ५७ लाख ९७ हजार ६८ रुपैयाँ बिगो कायम गरी उच्च अदालत पाटनमा मुद्दा दायर गरिएको विभागले जनाएको छ।

तीन वटै कम्पनीले ७ करोड ५५ लाख २५ हजार ५८४ मूल्य अभिवृद्धि कर र १८ करोड २ लाख ७१ हजार ४८४ रुपैयाँ आयकर छलेको अनुसन्धानबाट पत्ता लागेको छ। सबै कम्पनीलाई बिगोको दोब्बर जरिवाना र कैद सजाय समेत माग गरिएको छ।

मुद्दा दायर गरिएकामा काठमाडौं महानगरपालिका-३२ को बिग प्लान सप्लायर्सरबिग प्लान ब्याग उद्योग, भक्तपुरको एपी ट्रेड एन्ड सप्लायर्स र बनेपाको सम्मानित ट्रेड कन्सर्न छन्।

आइतबार दायर गरिएको यो मुद्दाका मुख्य प्रतिवादी तीन वटै कम्पनीबाट राजश्व छली गर्ने रामप्रसाद चौलागाईं हुन्। उनको कम्पनी बिग प्लान ब्याग उद्योग हो।

विभागका महानिर्देशक दीर्घराज मैनालीका अनुसार चौलागाईंले दर्ता गरेका ती कम्पनीका दुई प्रोप्राइटरलाई पनि प्रतिवादी बनाइएको छ।

बिग प्लानले वस्तु तथा सेवा खरिद नै नगरी झुठा तथा नक्कली मूल्य अभिवृद्धि र आयकर छलेको देखिएको छ। बिग प्लानले मूल्य अभिवृद्धि कर २ करोड ६ लाख ६ हजार ५२३, आयकर ४ करोड ९० लाख ८९ हजार ७१ हजार ५२० छलेको देखिएको छ।

यस्तै, एपी ट्रेडले ३ करोड ७१ लाख ५१ हजार ४४१ मूल्य अभिवृद्धि कर, आयकर ८ करोड ९८ लाख ९४ हजार ८५६ र सम्मानित ट्रेडले मूल्य अभिवृद्धि कर १ करोड ७७ लाख ६७ हजार ६२० र आयकर ४ करोड १२ लाख ८७ हजार १८३ रुपैयाँ छलेको अनुसन्धानमा खुलेको मैनालीले बताए।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.