११ असोज, बझाङ ।
बझाङ मष्टा गाउँपालिका–२ की १२ वर्षीया सम्झना कामीको बलात्कारपछि हत्यामा संलग्न व्यक्तिले एक महिनाअघि अर्की बालिकालाई बलात्कार गरेको खुलेको छ। सम्झनाको बलात्कारपछि हत्यामा बिहीबार पक्राउ परेका २० वर्षीय राजेन्द्र बोहोरासँगको अनुसन्धानबाट प्रहरीले अर्को बलात्कार घटनाको तथ्य फेला पारेको हो।
गत बुधबार बेलुका बोहराले गोरू पु¥याउन भनी आफ्नो घरबाट छाना (गोठ)मा गएकी सम्झनालाई मष्टा गाउँपालिका–२ स्थित शिवमाण्डौ मन्दिरभित्र बलात्कार गरी हत्या गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरीले उक्त घटनामा संलग्न बोहरालाई आफ्नै घरमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको थियो ।
पक्राउ परेका राजेन्द्रले साउन २९ गते घट्टामा पिठो लिन गएको अबस्थामा मष्टा–२ कै १३ वर्षीया दमाई थरकी बालिकालाई बलात्कार गरेको अनुसन्धानमा खुलेको छ। बलात्कारपछि दुवै पक्षबीच छलफल भएको र दुवैले कागज गरेर मिलापत्र गरेको कागज पनि भेटिएको छ। यो घटना प्रहरीसम्म नलग्न दुवै परिवारले कागज गरेर ‘गुपचुप’ पारेको अनुसन्धानमा खुलेको छ। कागजमा साउन ३१ गते मिलापत्र गरेको देखिएको छ। दुवै पक्षका तीन–तीन जनाले कागजमा हस्ताक्षर गरेका छन्।सो कागज गर्दा राजेन्द्रले बालिकाको खुट्टामा पाँच सय रुपैयाँ राखेर ढोगेको खुलेको पत्ता लागेको छ। यसरी बलात्कारजस्तो जघन्य अपराधमा पीडित पक्ष र पीडकबीच ‘गर्भवती’ भए जिम्मा लिने सर्तमा कागजात भएपछि गाउँमा अर्को बलात्कारबाट सम्झनाको हत्या हुन पुगेको निष्कर्ष प्रहरीको छ।
सुदूरपश्चिम प्रदेश प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेश सिंहले भने– ‘यदि त्यसबेला नै यो घटना प्रहरीसम्म आइपुगेको भए अर्को घटना घट्न पाउने अवस्था हुन्नथ्यो, जसकारण सम्झनाको हत्या नै निम्तियो ।’पहिलो घटना सामसुम भएपछि राजेन्द्रको मनोबल बढेको अनुसन्धानमा देखिएको छ। अहिले उनलाई आवश्यक कारबाहीका लागि जिल्ला अदालत बझाङबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।