१८ असाेज, काठमाडाैँ ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसी, गगनकुमार थापा, कल्पना चौधरी, शम्भुलाल श्रेष्ठसहित ६० जना भन्दा बढिमा संक्रमण देखिएको हो। शनिबार साँझ उनीहरुको रिपोर्ट सार्वजनिक भएको हो ।
२ सय ४० जनाको स्वाब संकलन गरिएको थियो। केन्द्रीय सदस्यसहित स्वकीय सचिव, सुरक्षाकर्मीमा संक्रमण पुष्टि भएको एक नेताले जानकारी दिएका छन्।
आशन्न १४ औं महाधिवेशनको कार्यतालीकासहितका विषयमा छलफल गर्न कांग्रेसले बैठक बोलाएको थियो। महाधिवेशनको कार्यतालिका र नेता रामचन्द्र पौडेल पक्षले उठाएका विषयमा शनिबार पार्टी केन्द्रीय कार्यालयमा बिहान दिउँसो छलफल भएको थियो।
आइतबार पुनः बसेर सबै विषय टुंगोमा पुग्ने नेताहरूले तयारी गरेपनि पार्टीका विभिन्न तहका नेताहरूमा संक्रमण पुष्टि भएसँगै आइतबारको बैठक स्थगीत गरिएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। साथै सोमबारबाट सुरु हुने केन्द्रीय समिति बैठक पनि स्थगित हुने भएको छ।
यसअघि शनिबार प्रधानमन्त्रीका तीन सल्लाहकार र स्वकीयसचिवलाई कोरोना संक्रमण देखिएको थियो भने बालुवाटारमा ७४ भन्दा धेरै कर्मचारी र सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिएको थियो ।