१९ असोज, एजेन्सी । जर्मन बुन्डेसलिगामा पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्की एक्लैले चार गोल गरेपछि साविकको विजेता बायर्न म्युनिखले रोमाञ्चक जित हात पारेको छ ।
घरेलु मैदानमा बायर्नले हर्था बर्लिनमाथि ४–३ को रोमाञ्चक र प्रतिस्पर्धात्मक जित निकालेको हो । हर्थाका जोन कोर्डाेवा, म्याथुस कुन्हा र जेसिक नागनकमले गोल गरेपनि हार टार्न सकेन ।
एलिएन्ज एरिनामा आइतबार राति गोलको वर्षा भएको प्रतिस्पर्धात्मक खेलमा बायर्नले ४०औं मिनेटमा लेवान्डोस्कीको गोलबाट अग्रता लिएको थियो ।
पेनाल्टी बक्समा लेवान्डोस्की आफैलाई विपक्षी खेलाडीले फल गरेपछि रेफ्रीले बायर्नलाई पेनाल्टी प्रदान गरेको थियो ।
यस जितसँगै बायर्न तीन खेलबाट ६ अंक जोडेर चौथो स्थानमा उक्लिएको छ । पराजित हर्था ३ अंकसहित १३ औं स्थानमा छ ।