देउखुरीलाई राजधानी बनाउने प्रस्तावमा कांग्रेसका १० नेताकाे समर्थन

देउखुरीलाई राजधानी बनाउने प्रस्तावमा कांग्रेसका १० नेताकाे समर्थन

१९ असाेज, काठमाडौँ ।

प्रदेश ५ को स्थायी राजधानी दाङको देउखुरी बनाउने प्रस्ताव प्रदेश ५ को प्रदेशसभामा प्रस्तुत हुँदा प्रमुख प्रतिपक्षी दल कांग्रेस नाराबाजी र तोडफोडमा उत्रियो । प्रदेशसभामा पार्टीका सांसदहरूले त्यसरी विरोध गरिरहेका बेला कांग्रेसका केही केन्द्रीय सदस्य र संघीय सांसदहरूले भने प्रदेश ५ सरकारले ल्याएको प्रस्तावमा समर्थन गरेका छन् ।

कांग्रेसका १० जना केन्द्रीय तहका नेताले बैठक गरेर प्रदेश ५ सरकारको स्थायी राजधानीसम्बन्धि प्रस्ताव उपयुक्त रहेको भन्दै विज्ञप्ति निकालेर समर्थन जनाएका हुन् । कांग्रेसका नेताहरूले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘हामीले शुरुदेखि नै प्रदेशको केन्द्र भालुवाङ हुनुपर्दछ भनेको स्मरण गराउँदै आएकोमा सोही स्थानलाई नै प्रदेश केन्द्र प्रस्ताव गरेकोमा प्रदेश नम्बर ५ प्रदेश सरकारप्रति आभार व्यक्त गर्दछौं । प्रदेशको नाम र केन्द्र निर्णय गरी निणयार्थ प्रदेशसभामा पेश गरे लगत्तै यसको पक्ष र विपक्षमा बहसहरू चलिरहेको सन्दर्भमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।’

प्रदेश राजधानीको विषयलाई नेताहरूले व्यक्तिगत प्रतिष्ठाको विषय बनाएकोमा उनीहरूले असन्तुष्टि जनाएका छन् । विज्ञप्तिमा भनिएको छ- ‘यस विषयलाई कुनै पनि राजनीतिक दल तथा नेताहरूले व्यक्तिगत प्रतिष्ठाको विषय नबनाई जनतालाई उत्तेजित बनाउने कार्य कहीँ कतैबाट गर्न र गराउन उपयुक्त नहुने राष्ट्रिय परिस्थिति रहेको छ ।’

उनीहरुले सरकारी विज्ञ टोलीको सिफारिस, समन्यायिक विकास, प्राकृतिक स्रोतको न्यायिक वितरण, जनमतको कदर र संघीयताको मर्म र भावनाअनुसार ५ नम्बर प्रदेशका सबैलाई सुविधाजनक रहेको र सामरिक दृष्टिकोणले समेत अत्यन्त उपयुक्त स्थान दाङ देउखुरीको भालुवाङलाई यस प्रदेशको राजधानी बनाउने प्रस्तावप्रति  पूर्ण समर्थन रहेकाे जनाएका छन् ।

प्रदेश ५ सरकारको प्रस्तावको समर्थन गर्ने कांग्रेस नेतहरूमा संघीय सांसदहरू पार्वता डीसी चौधरी, किशोरसिंह राठौर र सञ्जय गौतम छन् । त्यसैगरी पूर्वमन्त्री एवं केन्द्रीय सदस्य दीपक गिरी, गोपाल दहित र रोल्पा कांग्रेसका जिल्ला सभापति अमरसिंह पुन रहेका छन् भने केन्द्रीय सदस्यहरू शिला खड्का, मंगलप्रसाद थारु, योगेन्द्र चौधरी र कृष्णकिशोर घिमिरे रहेका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.