३ भदौ , विराटनगर ।
नेपालमा हरेक जातजाति, भाषभाषीका आआफ्ना चाडपर्व छन् । र ती चाडपर्वमा खाने परिकार पनि प्रायः फरक फरक हुने गरेका छन् । सेलरोटी, मालपुवा, तिलको लड्डु, क्वाँटी, यमोरी, बगिया, सेवै भन्नासाथ हामीलाई पर्वको नाम याद आउँछ । यस्तै तागाधारीहरुले आजको दिन मनाउँने एक चाड हो जनै पूर्णिमा र रक्षा बन्धन । यस्तै विशेषगरी तराईमा मनाइने राखी पर्व पनि धेरै क्षेत्रमा मनाइन थालिएको छ ।
जनै फेर्ने र रक्षा बन्धन लगाउँनेहरुले आज क्वाँटी पूर्णिमा पनि मनाउँछन् । जनै पूर्णिमा भारतमा पनि मनाइन्छ तर क्वाँटी खाने चलन भने नेपालको मौलिक परम्परा हो । हरेक वर्ष जनै पूर्णिमा एवम् रक्षा बन्धनका दिन विशेष खाने कुरामा पर्दछ, क्वाँटी । अन्य पर्वहरूका आफ्नै विशेष परिकार भएजस्तै क्वाँटी पनि रक्षाबन्धन विशेष परिकार हो ।
जुन स्वास्थ्यको हिसाबले पनि निकै उपयोगी र महत्वपूर्ण मानिन्छ । परापूर्वकालदेखि नै जनै पूर्णिमाका दिन क्वाँटी खाने प्रचलन रहेको बताइन्छ । ‘क्वाँटी’ शब्द नेपाल भाषाको ‘क्वाँति’ शब्दबाट बनेको भन्ने पनि भनाइ रहेको छ । जस अनुसार ‘क्वाँ’ को अर्थ तातो र ‘ति’ को अर्थ झोल वा सुप भएकाले यसलाई समास गरी ‘क्वाँटी’ भनिएको हो ।
यसकारण क्वाँटीको अर्थ गेडागुडीको ‘तातो सुप’ बुझ्न सकिन्छ । क्वाँटीमा ९ थरीका गेडागुडी मिश्रण गरिन्छ । यसलाई भिजाउने, टुसा उमार्ने र पकाउने विधि छ । सिमी, केराउ, चना, मटर, राजमा, बोडी, भटमास, मुंगदाल लगायत थरीथरीका गेडागुडीलाई टुसा उम्रने सफा पानीमा भिजाउने चलन छ ।
टुसा उम्रेपछि विशेष तरिकाले पकाउने गरिन्छ । क्वाँटी खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदेखि नै तापको सञ्चार गर्छ भन्ने धार्मिक एवम् आयुर्वेद शास्त्रीय मान्यता छ । विभिन्न थरी गेडागुडीको मिसाएर बनाइएको क्वाँटीको रस खाएमा शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धि हुने र यसबाट चिसो गाडिएर लाग्ने रुघाखोकीजस्ता रोग पनि निको हुने बताइन्छ ।
तर नेपालको मौलिक परम्परा भएपनि पछिल्लो समय क्वाँटीका लागि आवस्यक पर्ने गेडागुडीका लागि नेपाल अन्य मुलुकहरुमा निर्भर हुनुपर्ने अवस्था छ । गत आर्थिक वर्ष २०८०÷८१ मा २१ अर्ब ४ करोड १८ लाख रुपैयाँबराबरको २ लाख १९ हजार १ सय ७७ टनको हाराहारीमा विभिन्न प्रकारका गेडागुडी र दाल नेपालमा आयात भएको छ । जनै पूर्णिमा खाइने नौ प्रकारको गेडागुडी पनि यसैभित्र पर्छन् ।
क्वाँटीमा मुख्यगरी मास, भटमास, मुंगी, ठूलो केराउ, मस्याङ, चना, सिमी, टाटे सिमी र बोडी मिसाइन्छ । क्वाँटीमा मिसाइने कुनै पनि गेडागुडीमा नेपाल आत्मनिर्भर नभएकाले खपतको अधिकांश हिस्सा आयात नै गर्नुपर्छ । भन्सार विभागको तथ्यांकअनुसार अघिल्लो आर्थिक वर्ष २०७९÷८० मा १४ अर्ब ८ करोड ३८ लाख ६५ हजारको विभिन्न प्रकारको गेडागुडी र दाल नेपालमा आयात भएको थियो ।
यस्ता गेडागुडीमध्ये अधिकांश हिस्सा भने क्यानाडा, अष्ट्रेलिया र म्यानमारबाट आयात हुन्छ । यो तीन मुलुकबाहेक भारत, रुस, युक्रेन, अमेरिका, खाडी मुलुक, अर्जेन्टिना, चीन र टर्कीलगायतका मुलुकबाट पनि थोरथोरै परिमाणमा यस्ता गेडागुडी आयात हुन्छ ।