२६ फागुन , काठमाण्डौ।
लामो समय मधेसमा आफ्नो किल्ला जमाएको नेपाली काँग्रेसलाई यस पटक आएको रास्वपाको सुनामीले बढारी दिएको छ । नेपालको राजनीतिकमा २०४६ सालपछि मधेसले लगातार काँग्रेसलाई ३५ वर्ष साथ दिएको देखिन्छ । हुन त कांग्रेसलेपनि मधेसी पुत्रलाई नेपालको पहिलो जननिर्वाचीत राष्ट्रपति बनायो ।
नेपालबाट राजतन्त्र हटेपछि त्यही हैसियतमा राष्ट्रपतिका रूपमा डाक्टर रामवरण यादव बस्न पुगे । तर मधेसले अहिले सम्म कार्यकारी पदमा कसैलाई पनि पु¥याउन सकेको थिएन । २०६४ सालमा भएको मधेस विद्रोहपछि मेधेसीया र पहाडिया बिचमा ठुलो खाडल समेत देखिएको थियो ।
तर १८ वर्षपछि मधेसी र पहाडे बिचको खाडल पुर्दै पहिलो पटक मधेसीको छोरा देशको कार्यकारी प्रधानमन्त्री बन्ने भएको छ । नेपाली काँग्रेसको बलियो प्रभाव मानिएको मधेस प्रदेशमा यस पटक पार्टीले लगभग पूर्ण पराजय व्यहोर्नु प¥यो। अझ रोचक के छ भने यही प्रदेशमा काँग्रेस सभापति गगनकुमार थापा स्वयं पराजित भए, जबकि स्वतन्त्र राजनीतिक लहरको प्रतीक बनेका बालेन साहले मधेसमा ठुलो राजनीतिक उत्साह सिर्जना गरे।
यस पटकको निर्वाचनमा धेरैका आधार इलाका गुमे, गडहरू ढले, किल्ला तोडिए । जनता सधैँ स्वतन्त्र रहन्छन् भन्ने सन्देश यो निर्वाचनले दिएको छ । जुन लोकतन्त्रको सबै भन्दा सुन्दर पक्ष हो । यस पटक नेपाली राजनीतिमा स्थापित भनिएका शक्तिहरूलाई नयाँ राजनीतिक शक्तिले किनारा लगाइ दिएका छन् ।
२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा नेपाली काँग्रेसले ५७ सिट जित्दै संसद्को सबैभन्दा ठुलो दल बन्न सफल भएको थियो। समानुपातिक मत जोड्दा पनि काँग्रेसले राष्ट्रिय राजनीतिमा आफ्नो प्रभाव कायम राखेको थियो।तर यस पटकको प्रतिनिधिसभा निर्वाचनले काँग्रेसलाई गम्भीर धक्का दियो।
विशेष गरी मधेस प्रदेशबाट आएको परिणाम पार्टीका लागि झन् पीडादायी बन्यो। मधेसका आठ जिल्लामा ३२ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र छन्। तर यस पटक काँग्रेसले तीमध्ये जम्मा एउटा क्षेत्रमा मात्र जित निकाल्न सक्यो। रौतहट क्षेत्र नम्बर २ मा काँग्रेसका उम्मेदवार फिरदोश आलम विजयी भए।
बाँकी सबै क्षेत्रमा काँग्रेसका उम्मेदवारहरू पराजित भए। मधेस जस्तो क्षेत्रमा, जहाँ काँग्रेस दशकौँदेखि राजनीतिक रूपमा प्रभावशाली मानिन्थ्यो, यस्तो परिणाम आउनुलाई विश्लेषकहरूले “जनताले दिएको चेतावनी”का रूपमा व्याख्या गरेका छन्।०७९को निर्वाचनमा मधेसमा नेपाली कांग्रेसले ७ सिट जितेको थियो भने सबैभन्दा बढी नेकपा (एमाले)ले ९ सिट जितेको थियो ।
एमालेपनि यसपटक १ सिटमा मात्रै चित्त बुझाउन बाध्य भएको छ। बाँके १ मा एमालेका मोहम्मद इस्तियाक राई विजयी भएका छन् । यसअघि ६ सिटसहित बलियो शक्ति बनेको जनता समाजवादी पार्टीसहित ३ सिट जितेको लोकतान्त्रिक समाजवादी पार्टी, एक सिट जितेको जनमत पार्टी यसपटक निल भएका छन् ।
यस निर्वाचनको सबैभन्दा चर्चित राजनीतिक घटनामध्ये एउटा थियो काँग्रेस सभापति गगनकुमार थापाको निर्वाचन क्षेत्र परिवर्तन । भदौ २३ र २४ गते भएको ‘जेनजी विद्रोह’ शैलीको विशेष महाधिवेशनपछि पार्टी नेतृत्व कब्जा गर्न सफल भएका थापाले आफूलाई परिवर्तनकारी नेताका रूपमा प्रस्तुत गरेका थिए ।
निर्वाचन आयोगले उक्त महाधिवेशनलाई मान्यता दिएपछि उनले पार्टीभित्र आफ्नो पकड बलियो बनाएका थिए। तर प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा उनले अप्रत्याशित निर्णय लिए—काठमाडौँ क्षेत्र नम्बर ४ छोडेर सर्लाही क्षेत्र नम्बर ४ बाट चुनाव लड्ने। राजनीतिक वृत्तमा यस निर्णयलाई विभिन्न ढङ्गले व्याख्या गरियो।
केही विश्लेषकहरूले गगनले मधेसमा पार्टीको प्रभाव पुनः स्थापित गर्न र बालेनको सम्भावित मधेस वेगलाई रोक्नका लागि यो निर्णय लिएको हुन सक्ने विश्लेषण गरे । बालेनले निर्वाचन घोषणा भएपछि झापा हुँदै मधेस झर्ने सङ्केत दिएका थिए। काठमाडौँ महानगरको मेयर बनेपछि देशव्यापी लोकप्रियता हासिल गरेका बालेनले मधेसमा अभियान चलाउने सन्देश दिएसँगै युवापुस्तामा ठुलो उत्साह देखिएको थियो।
थापाको बुझाइमा आफू मधेस झरेपछि बालेनले सिर्जना गरेको राजनीतिक ‘हावा’को वेग कम हुन सक्छ भन्ने अनुमान थियो। तर चुनावी परिणामले त्यो अनुमान उल्टाइदियो। बालेनको वेगले स्थापित राजनीति शक्तिहरूलाई किनारामा पु¥याइ दियो । छोटो समयमा भ्रष्टाचार विरोधी छवि, प्रशासनिक कडाइ र युवापुस्तासँगको प्रत्यक्ष संवादका कारण उनले पारम्परिक राजनीतिक दलहरूभन्दा फरक छवि निर्माण गरेका थिए।
जब उनले भावी प्रधानमन्त्री अनि रास्वपाको वरिष्ठ नेता एकै पटक पाए त्यसपछि मधेसमा अभियान चलाउने सन्देश दिए, त्यसले त्यहाँका युवाहरूमा नयाँ उत्साह ल्यायो । विशेष गरी सामाजिक सञ्जालमार्फत फैलिएको यो उत्साहले चुनावी मनोविज्ञानमा ठूलो प्रभाव पारेको विश्लेषकहरूको भनाइ छ।
स्थानीय युवाहरूले पारम्परिक दलहरूलाई चुनौती दिने राजनीतिक विकल्प खोजिरहेको अवस्था थियो। बालेनको सन्देशले त्यही आकाङ्क्षालाई थप ऊर्जा दिएको देखिन्छ। मधेसमा काँग्रेसको यस्तो पराजय हुनुका पछाडि धेरै कारणहरू छन्। पहिलो काँग्रेसको सङ्गठनात्मक कमजोरी नै हो ।
पछिल्ला केही वर्षदेखि मधेसमा काँग्रेसको सङ्गठन कमजोर हुँदै गएको थियो। स्थानीय तहदेखि प्रदेशसम्म पार्टीभित्र गुटबन्दी तीव्र थियो। अर्का तर्फ वर्र्षाैदेखि मधेसमा क्षेत्रीय दल, स्वतन्त्र उम्मेदवार र नयाँ राजनीतिक समूहहरू सक्रिय भएका थिए । त्यसै गरी नेतृत्वप्रतिको असन्तुष्टि हिमाल जस्तै चुलिएको थियो ।
पार्टी नेतृत्वप्रति जनतामा बढ्दो असन्तुष्टिलाई काँग्रेसले सम्बोधन गर्नुको साटो पेलेर अघि बढ्ने रणनीति लियो । काँग्रेसले केन्द्रमा सरकारको नेतृत्व गर्दा पनि मधेसका आधारभूत समस्या समाधान हुन नसकेको गुनासो व्यापक थियो । यसलाई सम्बोधन गर्न जाँगर काँग्रेसमा कहिल्यै देखिएन ।
त्यसैको परिणाम यस पटकको निर्वाचनमा मधेसमा काँग्रेसका लागि एक मात्र राहत बने—रौतहट क्षेत्र नम्बर २ बाट निर्वाचित फिरदोश आलम। २०४३ साल मङ्सिर ५ गते जन्मिएका डा. फिरदोश आलम काँग्रेस नेता स्वर्गीय अफताब आलमका जेठा छोरा हुन्। नेपाल प्रहरीमा प्रहरी निरीक्षकका रूपमा काम गरेका उनले पछि राजनीतिमा प्रवेश गरेका थिए।
पेशाले चिकित्सकसमेत रहेका उनले बङ्गलादेशको ढाका विश्वविद्यालयमा अध्ययन गरेका हुन्। २०७९ सालको निर्वाचनमा उनी स्वतन्त्र उम्मेदवार किरण साहसँग पराजित भएका थिए। तर यस पटक उनले त्यही प्रतिस्पर्धालाई उल्ट्याउँदै फराकिलो मतान्तरले जित हासिल गरे। रौतहट क्षेत्रमा आलम परिवारको राजनीतिक प्रभाव लामो समयदेखि रहेको छ।
शेख इद्रिसदेखि अफताब आलमसम्म फैलिएको राजनीतिक विरासतलाई फिरदोशले निरन्तरता दिएका छन्। उनका भाइ डा. रजिक आलम अहिले रौतहटकै राजपुर नगरपालिकाका मेयर छन्। काँग्रेसका सभापति गगनकुमार थापाको पराजय र मधेसमा पार्टीको प्रत्यक्ष र समानुपातिक तर्फको मत हेर्दा मधेसी जनताले लामो समयदेखिको काँग्रेस सँगको सम्बन्ध तोडेको देखिन्छ ।
हुन् त मधेसबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेर चर्चामा आएका धेरै पुराना नेताहरूले यस पटक हार बेहोर्नु परेको छ । कुनै बेला मधेसका मसिहा भनेर चिनिने उपेन्द्र यादवले सप्तरी ३ मा निर्वाचन हार्दा राजेन्द्र महतो सर्लाही २ मा पराजित भए । यसै गरी धनुषा ३ बाट महेन्द्र नारायण निधि पुत्र बिमलेन्द्र निधी सँगै जुलीकुमारी महतो पराजित हुन पुगिन ।
उता रघुवीर महासेठले धनुषा ४ मा हार व्यहोरे भने विजयकुमार गच्छदार सुनसरी ३ बाट पराजित भए । नवलपरासी १ बाट विनोद चौधरी पराजित भए भने मधेसका ज्वाला बनेर निस्केका सिके राउत सप्तरी २ पराजित हुन पुगे ।अघिल्लो निर्वाचनमा राष्ट्रिय दल बनेका मधेसवादी दलहरुले यसपटक खातासम्म खोल्न सकेनन् ।
नत समानुपातिकमै ३ प्रतिशतको थ्रेसहोल्ड कटाउन सके । मधेसका मसिहा ठानिने नेताहरूको पराजय सँगै १८ वर्ष पहिला खनिएको मधेसी पहाडी बिचको खाल्डो पुरिएको छ । कुनै बेला थियो । जुन सुकै दलको उम्मेदवार भए पनि मधेसीले मधेसीलाई मात्र मत हाल्ने अनि पहाडेले पहाडेलाई मात्र मत हाल्ने ।
तर यो निर्वाचनले मधेस पहाड र हिमाललाई एकै बनाइ दिएको छ । मधेसमा जातीय आधारमा खुलेका दलहरूलाई समेत किनारामा पु¥याइ दिएको छ । मतदाताले पहिचानभन्दा माथि उठेर विकास, स्थायित्व र समावेशितालाई प्राथमिकता दिन थालेको संकेत दिएका छन्।